लमही नगरपालिका को संक्षिप्त परिचय

लमही नगरपालिका नेपाल सरकार मंत्री परिषद को मिति २०७१ मंसिर १६ गतेको निर्णय अनुसार साविक सोनपुर गा.वि.स. र चैलाही गा.वि.स.समायोजन गरि लमही नगरपालिका घोषणा भएको हो । नेपालको मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अंचल दाङ्ग जिल्ला का ४ वटा नगरपालिका मध्ये जिल्लाको समतल क्षेत्रमा अवस्थित नगरपालिका हो । दाङ्ग जिल्लाको देउखुरी उपत्यकाको विच भागमा पर्ने यो नगरपालिका जिल्ला सदरमुकाम घोराही वाट २५ किलोमिटर को दुरीमा पर्छ । लमही नगरपालिका दाङ्ग जिल्ला ५ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं.१ तथा ईलाका नं. ५ मा पर्दछ । यस्को मुख्य केन्द्र विन्दु लमही वजार हो ।
सरदर १२९ वर्ग किलोमिटर ओगटेको यस लमही नगरपालिका २७.४६ डिग्री देखी २७.८६ डिग्री उत्तरी अक्षांस र ८२.३२ देखी ८२.५२ डिग्री पूर्वी देशान्तर को विच चुरे पर्वतको विचमा अवस्थित छ । यो समुन्द्र सतह देखी सरदर २४६ मिटरको उचाईमा छ । यसको पूर्व–पश्चिम लम्वाई १३ किलो मिटर र उत्तर–दक्षिण २३ किलोमिटर रहेको छ । यस लमही नगरपालिका लाई पूर्व पश्चिम हाइवे मार्ग ले छोएको छ । यस नगरपालिकाको पूर्वमा सिसहनिया गा.वि.स.को पश्चिम सिमाना, पश्चिम सतवरिया गा.वि स..को पूर्वी सिमाना, उत्तर रामपुर र लक्ष्मीपुर गा.वि.स.को दक्षिण सिमाना र दक्षिण गंगापरस्पुर, गढवा र वेला गा.वि.स. को उत्तरी सिमाना रहेको छ ।
लमही नगरपालिका समथर भुभागमा रहेको ले यहाँको हावापानी गर्मी रहेको छ । यहाँको तापक्रम अधिकतम औसत ४२ डिग्री सेल्सीयस, न्युन्तम औसत २ डिग्री सेल्सीयस र वर्षा वार्षिक औसत १३४० मि.मि. रहेको छ । यस नगरपालिकाको हावापानी र वातावरण सुन्दर र रमणिय रहेको छ । खेती योग्य जमिन ७१४२–१५– १०.७० विघा, वन जंगलले ढाकेको क्षेत्रफल १४९४०–१६–३ विघा रहेको छ । राप्ती नदी तथा अजुर्न खोला वाट नहर निर्माण गरी सिचाई गरिने भएकोले यहाँको जमिन उर्वर रहेको छ । यस नगरपालिका का वासिन्दाहरुको मुख्य पेशा कृषि हो । धान, मकै,गहुँ,तेलहन दलहन आदी को खेती गरिन्छ । आलु प्याज टमाटर लसुन भन्टा चम्सुर रायो सिमि वोडी बन्दा काउली भिन्डी परवर आदीको मुख्य तरकारी खेती गरिन्छ ।